मधेस

पर्साको पटेर्वासुगौलीमा नवजात शिशु फेला, उद्दार गरी नारायणी अस्पतालमा ल्याईयो

२६ पुष २०८१, शुक्रबार १३:२१

२६ पुष,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.–२ बंकुल खोलाको बगरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । शुक्रबार बिहान करिब ६ः३० बजेको समयमा गाउँबाट खोलातिर घुम्न गएको बेला स्थानीय हिरालाल महतोले नवजात शिशु रोएको सुनेपछि हेर्दा बेवारिसे अवस्थामा फेला परेको थियो ।

बेवारिसे अवस्थामा नवजात शिशुलाई देखेपछि उनले प्रहरी लाई खबर गरेका थिए । खबर पाउनसाथ घटना स्थलमा प्रहरी चौकी रङगपुरबाट गएको टोलीले हेर्दा नवजात शिशुलाई उद्दार गरी मुचुल्का तयार गरी रङगपुर स्वास्थ्य चौकीमा लगिएको थियो ।

शिशुको रङगपुर स्वास्थ्यमा स्वास्थय परिक्षण गर्दा अवस्था सामान्य रहेको स्वास्थ्य चौकीका प्रमुख रीयाज खानले बताए । नवजात शिसुको थप चेकजाँचका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

नवजात शिशुको अभिभावकको पहिचान गरिरहेको प्रहरीले जनाएको छ । कहाँबाट खोलाको बगरमा ल्याएर छोड्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्