समाचार

गाजामा युद्धबिरामका लागि शर्तहरूलाई अन्तिम रूप दिइँदै, यस्ता हुन सक्छन् शर्तहरू

१ माघ २०८१, मंगलवार ११:४१

१ माघ,काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि हुन लागेको सम्झौताका शर्तहरूलाई अन्तिम रूप दिने प्रक्रिया सुरू भएको छ । यस युद्धविरामका लागि जारी वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले बीबीसीलाई यो जानकारी दिएका छन् ।

यो खबर यस्तो बेला आएको हो जब अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सम्झौता अन्तिम चरणमा पुगेको र उनको प्रशासनले यस विषयमा लगनशीलताका साथ काम गरिरहेको बताएका छन् ।

एक इजरायली अधिकारीले पनि समाचार एजेन्सी रोयटर्सलाई वार्ता “अन्तिम चरण” मा रहेको र “केही घण्टा वा दिनमा” सहमति हुन सक्ने बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल थानीसँग कुरा गरेका थिए।

एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमास र इजरायली अधिकारीहरू सोमबार एउटा भवनमा वार्ता गरिरहेका थिए।

यस सम्झौतासँग सम्बन्धित केही सम्भावनाबारे जानकारी दिँदै ती अधिकारीले भने, ‘यस विषयमा विस्तृत प्राविधिक विषयमा छलफल गर्न धेरै समय लागेको छ ।’

हमासले सम्झौताको पहिलो दिन तीन जना बन्धकहरूलाई रिहा गर्ने र त्यसपछि इजरायलले जनसंख्या भएको क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने शर्तमा दुवै पक्ष सहमत भएका छन्।

सात दिन पछि हमासले थप चार जना बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले दक्षिणबाट विस्थापित मानिसहरूलाई उत्तरमा फर्कन अनुमति दिनेछ । तर ती विस्थापितहरू तटीय सडकहरूबाट पैदल हिँडेर मात्र फर्कन सक्नेछन् ।

कारहरू, जनावरहरूले तान्ने गाडाहरू र ट्रकहरूलाई सालाह अल–दिन रोडको साथमा रहेको सडकबाट जान अनुमति दिइनेछ। कतार र इजिप्टको प्राविधिक सुरक्षा टोलीद्वारा सञ्चालित एक्स–रे मेसिनबाट यसको अनुगमन हुनेछ ।

युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फिया कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८०० मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश गरिएको छ।

यस सम्झौता अन्तर्गत इजरायलले १५ वर्ष वा सोभन्दा बढी समयदेखि सजाय भुक्तान गरिरहेका करिब १९० जनासहित एक हजार प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि सहमत भएको छ । बदलामा, हमासले ३४ बन्धकहरूलाई रिहा गर्नेछ।

यस युद्धविराम सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता पहिलो चरणको १६ औं दिनबाट सुरु हुनेछ।

एक इजरायली–अमेरिकी बन्धकका बुबाले बीबीसीको न्यूज आवर कार्यक्रममा इजरायलले सम्झौतालाई “हुन्छ” भनेको छ भनेर विश्वास गर्न चाहेको बताए।

बन्धकका बुबा जोनाथन डेकेल–चेनले भने – उनी आफ्नो छोरा सागुईको डरले हरेक दिन “आतंकमा बाँचिरहेका छन्”।

युद्धविराम सम्झौता सहमतिको नजिक पुगेको रिपोर्टहरू बीच, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले “यस हप्ता” सम्झौता हुनसक्ने बताए। यो राष्ट्रपति जो बाइडेनको कार्यालयमा अन्तिम हप्ता हो।

जेक सुलिभानले बाइडेनले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसीसँग वार्ता गर्न लागेको बताए ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफ पनि दोहा गएका थिए ।

ट्रम्पले यसअघि जनवरी २० मा पदभार सम्हाल्नुअघि बन्धकहरूलाई रिहा गरिएन भने “सबै कुरा ध्वस्त हुने” चेतावनी दिएका थिए।

यद्यपि इजरायलका विदेशमन्त्री गिडोन सारले पत्रकारहरूलाई भने – वार्तामा प्रगति भएको छ र सम्झौता “पहिले भन्दा धेरै राम्रो” देखिन्छ।

तर पछिल्लो घटनाक्रम यस्तो समयमा आएको हो जब नेतान्याहुले सम्भावित सम्झौताको बारेमा आफ्नो सत्तारूढ गठबन्धन भित्रबाट कडा विरोधको सामना गरिरहेका छन्।

नेतान्याहुको आफ्नै लिकुड पार्टीका केही सदस्यहरू बाहेक दश दक्षिणपन्थी सदस्यहरूले उनलाई युद्धविरामको विरोध गर्दै पत्र पठाएका छन्।

यस वार्ताको क्रममा गाजाको सिभिल डिफेन्स एजेन्सीले सोमबार गाजा शहरमा इजरायली हवाई आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ।

सिभिल डिफेन्सका महमुद बस्सलले एएफपी समाचार एजेन्सीलाई भने, “उनीहरूले विद्यालय, घर र मानिसहरूको भीडमा समेत बमबारी गरे।”

अर्कोतर्फ, इजरायली सेनाले यी रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ। यसबाहेक गाजा पट्टीको उत्तरमा सोमबार पाँच सैनिक मारिएको सेनाले जनाएको छ ।

इजरायल र हमासबीचको यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको थियो। यस हमलामा १,२०० मानिस मारिएका थिए र हमासले अन्य २५१ जनालाई बन्धक बनाएको थियो।

जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६,५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

इजरायलले गाजामा अझै ९४ जना बन्धक रहेको र ३४ जनाको मृत्यु भएको आशंका गरेको छ । यसबाहेक अन्य चार इजरायलीलाई पनि युद्धअघि अपहरण गरिएको थियो, जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्