३ माघ,वीरगञ्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले उपाधिमाथि कब्जा जमाउन सफल भएको छ। बिहीबार अन्तिम दिनको खेलमा १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मीलाई ७४ रनमा रोक्दै पुलिस विजेता बनेको हो।
आर्मीलाई सस्तोमा समेट्न सागर ढकाल र ललित राजवंशीले घातक बलिङ गरे । ढकालले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए भने राजवंशीले १५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए।
आर्मीका लागि ओपनर इमरान शेखले सर्वाधिक २८ रन जोडे। त्यसबाहेक कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११–११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पुलिसले पहिलो इनिङ्समा १ सय ३३ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, त्रिभुवन आर्मीले आफ्नो पहिलो इनिङ्समा १ सय ७० रन जोडेको थियो ।
नेपाल पुलिस क्लब दोस्रो इनिङ्समा १ सय ३९ रनमा सीमित बनेको थियो। प्रहरी आफ्नो दोस्रो इनिङ्समा ४९.१ ओभरमा अलआउट हुन पुग्यो। टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ६७ बलको सामना गर्दै ६ चौका प्रहार गरे।
दिलिप नाथले ६२ बलमा ३४ रन बनाउँदै पभेलियन फर्किए। उनले ४ चौका र १ छक्का प्रहार गरे । रासिद खानले १८ रन तथा अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसलाई सस्तोमा समेट्न शहाब आलम र बसिर अहमदले ५–५ विकेट लिए। आलमले २५ ओभर बलिङ गर्दै ७५ रन खर्चिए। अहमदले २२.१ ओभरमा ४९ रन दिए।