६ माघ,काठमाडौँ । सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ। विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान हुनसक्ने बताए। उनले भने, ‘अब केही दिनमै बोलाइन्छ। माघको १८ वा २० गते मा हुनसक्छ, त्यही अनुसारको सल्लाह हुँदैछ ।’
यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले एक कार्यक्रममा बोल्दै अबको १५÷२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए। संसद्को बर्षे अधिवेशन गएको भदौ ३१ गते अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ।