११ माघ,वीरगञ्ज । पछिल्लो ६ महिनामा मधेस प्रदेशभरबाट दुइ हजार २१३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालयका प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुषसममको अवधिमा ती सङख्याका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेशका हरेक जिल्लाका प्रहरीले अभियान नै सञ्चालन गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।
उनका अनुसार साउनदेखि पुष मसान्तसम्म पक्राउ परेकामा सबैभन्दा बढी प्रदेश राजधानी धनुषाका प्रतिवादी छन् । अर्थात् धनुषा प्रहरीले मात्र यो समयमा ६५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
यसैगरी पर्सा ३७९, बारा १४०, रौतहट २०७, सर्लाही २५९, महोत्तरी १५४, सिरहा २१० र सप्तरी २०५ गरी जम्मा दुइ हजार २१३ जनालाई पक्राउ गरिएको प्रवक्ता बोहराले बताए ।
उनीहरुलाई मातहतका प्रहरीले लुकीछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ । पक्राउ परेकाहरुबाट पाँच करोड ५४ लाख ७४ हजार ३९३ रुपैँया जरिवानासमेत तोकिएको छ ।
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतको आदेश अनुसार जरिवाना तिराउ र कारागारसमेत पठाइएको मधेस प्रदेश प्रहरीले जानकारी दिएको छ ।