२३ मंसिर, रौतहट । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।
रौतहटको राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।
पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।