
३ फागुन,काठमाडौं । पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।
शनिबार पोखरा महानगरले आयोजना गरेको पोखरा भ्रमण वर्ष घोषणा समारोहलाई उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेल बेलुन पड्किँदा घाइते भएका थिए ।
समारोह उद्घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेल स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि घाइते भएका हुन् । उनीसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि घाइते भएका छन् ।
दुर्घटनापछि अर्थमन्त्री पौडेललाई गण्डकी अस्पताल लगिएको थियो । त्यसा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।
‘अवस्था सामान्य नै हो । हात र अनुहारमा अलिकति लागेको छ । थप उपचारका लागि काठमाडौं फर्किँदैछौं’, अर्थमन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीले भने ।
मन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले पनि थप उपचारका लागि काठमाडौं आउन लागेको बताए । अर्थमन्त्री पौडेलको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुनेछ । अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।