मधेस

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा नौ महिनामा ३५ करोड भन्दा बढी सामान बरामद

४ फाल्गुन २०८१, आईतवार १५:४३

४ फागुन,वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले नौ महिनामा ३५ करोड भन्दा बढीको राजस्व छलिको सामान बरामद गरेको छ ।

आर्थिक बर्ष २०८१ जेष्ठ महिनादेखि माघ सम्म सशस्त्र प्रहरीले ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया मूल्य बराबरको राजस्व छलिको सामानहरु बरामद गरि वीरगन्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।

२०८१ जेष्ठ महिनादेखि माघसम्ममा २३ लाख ४१ हजार ३५८ रुपैंया मूल्य बराबरको बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए । त्यस्तै १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैंया मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।

यसरी दुवैतर्फ बुझाएको बरामद सामानको मूल्य ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया पुगेको हो । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक बर्ष २०८० को जेष्ठदेखि माघ महिनासम्म १७ करोड ९ लाख ६९ हजार १९६ रुपैंया मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक बर्षको नौ महिनामा सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वार्टरले ७ करोड ३९ लाख १४ हजार ६१८ रुपैंया मूल्य बराबरको सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । भने, राजस्व अनुसन्धान कार्यालयमा ९ करोड ७० लाख ५४ हजार ५७८ रुपैंया मूल्य बराबरको बरामद सामान बुझाएको थियो ।

यसैबीच सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले २०७९÷८० को तुलनामा २०८०/८१ मा राजस्व सङ्कलनको दर उल्लेखनीय रूपमा वृद्धि गरेको छ । भन्सार, राजस्व अनुसन्धान, तथा अन्य सरकारी निकायमा बुझाइएको रकम गत वर्षको तुलनामा वृद्धि हुनु सीमा क्षेत्रमा सुरक्षा निगरानीको प्रभावकारि रहेको सङ्केत देखिन्छ ।

सशस्त्र प्रहरी बलका अनुसार, राजस्व सङ्कलन वृद्धि गर्नुका साथै अवैध तस्करी नियन्त्रण गर्न नियमित निगरानी बढाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न आगामी दिनमा थप कडा निगरानी र छानबिन गरिने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साले मातहत स्थापना गरिएका बोर्डर आउट पोष्ट (बिओपी) को भवन निर्माणका लागि जग्गा खोजी कार्यलाई पनि जारी राखेको छ । सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट निर्माणका लागि पर्साका तीन स्थानमा जग्गा प्राप्तीको लागि जिल्लाबाट आवश्यक प्रकृया पूरा भएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।

उनका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाको पाँडेपुर, पिडरीगुठी, धोविनी गाउँपालिकाको भीखमपुर, जीराभवानी गाउँपालिकाको महादेवपट्टीमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) को लागि जग्गा खोज्ने काम सकिएको छ । यी ठाउँहरुमा जग्गा निश्चित भएको र अब मन्त्रीपरिषदको निर्णयबाट स्वकृत भएर आएमा बीओपी भवन निर्माणका लागि बाटो खुला हुने सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्