
६ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आज जिल्ला अधिवेशन हुँदैछ ।
वीरगन्जको रोयल पार्टी प्यालेशमा मध्यान्ह शाखाको अधिवेशन हुन लागेको पर्सा शाखाले जनाएको छ । ५३ औं जिल्ला अधिवेशन पश्चात रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रियासमेत तय भइसकेको जिल्ला कार्यसमितिले जनाएको छ । निर्वाचन समितिका अनुसार रेडक्रस पर्साको नयाँ नेतृत्व चयनका लागि आजै (मगलबार) उद्घाटनशत्र पश्चात मतदाता नामावली प्रकाशनको कार्यतालिका रहेको छ ।
मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचनको प्रक्रिया आजैदेखि सुरु हुने जनाइएको छ । रेकडक्रस निर्वाचन समितिका अनुसार मंगलबार नै उम्मेदवारी दर्ता, दाबी विरोध, अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
निर्वाचनको प्रक्रिया आजै सबै टुंगो लगाएर बुधबार विहानदेखि मतदानको समयवाधि तोकिएको जिल्ला कार्यसमितिका शिवनाथ यादवले बताए । उनका अनुसार भोली विहान (बुधबार) ९ बजेदेखि जिल्ला शाखामा मतदानको समय राखिएको छ ।
मतदान सकिए लगत्तै मतगणनाको कार्यतालिका तय रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जानकारी दिएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अनुसार नयाँ नेतृत्वका लागि यो पटक दुइवटा प्यानलबिच भीडन्त हुने चर्चा चुलिएको छ ।
सभापति बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबिच यो वर्षको नेतृत्वको लागि प्रतिस्पर्धा हुने अहिलेसम्मको आंकलन रहेको रेडक्रस स्रोतले जनाएको छ ।
पर्सा शाखामा १३४ जना मतदाता रहेका छन् । ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जानकारी दिएको छ ।