
७ फागुन,काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित परियोजनाको भुक्तानी रोकिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा गरेको ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार भुक्तानी रोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
एमसीसीले यसबारे यही फागुन २ गते इमेलमार्फत् पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।
‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।