समाचार

घण्टाघरको प्लाष्टर खसेपछि तत्काल त्रिपालले छोपेर बाँधियो

७ फाल्गुन २०८१, बुधबार १६:५८

७ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरको मुख्य चोकमा रहेको ऐतिहासिक घण्टाघरको केही भाग भत्किएको छ । घण्टाघरको पूर्वतर्फ बीच भागको प्लाष्टर उप्किएर झर्दा वीरगञ्ज मेनरोड हुँदै सवारी आवतजावतमा समेत केहीबेर समस्या भएको थियो ।

आज दिउँसो घण्टाघरको केही भाग अचानक भत्किएपछि सडकमा सवारी साधन तथा पैदल यात्रुहरुलाई समेत आवतजावत गर्न समस्या भएको थियो ।

घण्टाघरको भत्किएको भाग भुँईमा खस्दा सडकमा हिड्नेहरुलाई पनि त्रसित बनाएको थियो । अहिले महानगरपालिकाको नगर प्रहरी आएर भत्किएको भागलाई त्रिपालले बेरेर राखेको छ ।
घण्टाघर भत्किएर थप दुर्घटनाको जोखिमबाट बचाउनका लागि महानगरपालिकाले भत्किएको भागतर्फ त्रिपालले बाँधेर राखेको छ ।

केहीबर्ष अघि पनि घण्घाटर ढल्कियो भनेर अफवाह फैलाईएको थियो । ऐतिहासिक धरोहर घण्टाघर भत्किन थालेपछि यसको संरक्षण र मर्मत सम्भारका लागि सरोकारवालाले चासो देखाउनुपर्ने आवाज उठेको छ ।
घण्टाघरमा लगाईएको घडी पनि पुनः सञ्चालनको तयारी भईरहँदा घण्टाघरको बीचको प्लाष्टर गरिएको भाग खसेको छ ।

प्रतिक्रिया दिनुहोस्