मधेस

बाराबाट १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १७:५४

वीरगञ्ज,१६जेठ । बारा प्रहरी ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले नक्कली नेपाली रुपैयाँसहित एक भारतीयसहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । उनका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारीबाट बरामद भएको हो ।

प्रहरीले नेपाली नक्कली नोटसहित बारा कोल्हवी नगरपालिका ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना नेपालीहरुको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपाने बताउँछन् ।

यसैगरी प्रहरीले साइकलमा नेपाली नक्कली नोट लिएर आउँदै गरेका भारत विहार मोतिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पक्राउ गरेको हो । उनको साथबाट ६ लाख ९ हजार नक्कली नोट बरामद भएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट ना ३४ प ३५१२ र बीआर ६ ए डब्लु, २७५८ नम्बरको मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्