प्रदेश समाचार

गएरातिको हावाहुरीले ठोरीको विभिन्न स्थानमा क्षति

१८ जेष्ठ २०८१, शुक्रबार ११:५६

वीरगन्ज, १८ जेठ । बिहिबार राति आएको हावाहुरीका कारण ठोरी गापा–५ , गडुवालाईनको आस्थाको केन्द्र नै ढलेको छ । गडुवालाईन लगायत वरपरका स्थानीयको आस्था र विश्वासको रुपमा परिचित विशाल वरको रुख ढलेको हो ।

सुवर्णपुर क्षेत्रकै पवित्र तिर्थस्थल समेत रहेको सो विशाल वरको रुख ढल्दा रुखको छेउमा नै रहेको सेतीदेवी मन्दिर र मन्दिरसँगै रहेको पुजारीको कुटीमा समेत पूर्ण क्षति पुगेको छ । हावाहुरीका कारण करीब २० लाख बराबरको क्षति भएको ठोरीका पुर्व गापा अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

करीब ८० वर्ष पुरानो रहेको सो वरको रुख ५ कट्ठा क्षेत्रफलमा फैलिएको थियो ।५ कट्ठा क्षेत्रफल नै ढाकेको विशाल रुख भएको हुनाले स्थानीयले सो रुख पर्साको नै सबैभन्दा ठुलो रुख भनेर दाबी गर्ने गरेका छन्।

गडुवालाईन लगायत वरपरका स्थानीयबासीले धार्मिक कार्यमा पुज्ने गरेको सो रुखको ऐतिहासिक महत्व रहेको गडुवालाईन निवासी युवा समाजसेवी बिमल खड्काले बताउनुभयो । २ दशक अघिसम्म हरेक वर्ष जनैपुर्णिमाको दिन सो रुख वरपरको क्षेत्रमा धामीझाँक्री नाच हुने गरेको थियो ।

सो अवसरमा सो रुखको माथि सधैं बस्ने सर्पले नाचको हरेक वर्ष अवलोकन गर्ने गरेको गडुवालाईनका अग्रज देवी प्रसाद दाहालले बताउनुभयो । वरको रुख सालको रुखमा बेरिएर विशाल बनेको र झाँक्रीले नाच्ने क्रममा बक्दै सो ठाउँ सेतीदेवीको स्थान रहेको बताएपछि सो ठाउँमा सेतीदेवीको पुजा अर्चना समेत हुने गरेको स्थानीयबासीको कथन छ ।

यस्तै सो क्षेत्रमा पहिलेदेखि नै हरेक वर्ष पितृको सम्झनामा दीप प्रज्वलन गर्ने बाला चतुर्दशीका दिन जात्रा समेत लाग्ने गरेको छ । धार्मिक केन्द्रको रुपमा विकास हुँदै गरेको सो रुख ढलेसँगै पुनर्निर्माण गर्नुपर्ने अवस्था निम्तिएको अग्रज दाहालले बताउनुभयो ।

आर्थिक वर्ष २०७४र७५ देखि लगातार ३ आर्थिक वर्षमा ठोरी गापाको १२ लाखको लागतमा सो क्षेत्रमा सेतीदेवीको मन्दिर निर्माण गरिएको थियो । यस्तै सो मन्दिरको पुजारीको बसोबासको लागि मन्दिरसँगै प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीको विकास कोषबाट ५ लाख लागतमा कुटी समेत निर्माण गरिएको थियो ।

भने स्थानीयको प्रयासमा वरपर सिमेन्टेड कुर्सी र बस्ने ठाउँको समेत व्यवस्था गरिएको थियो । बिहिबारको हावाहुरीले रुखसँगै सबै संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्