प्रदेश समाचार

समाज परिवर्तनका लागि व्यावसायिक पत्रकारिताको खाँचो छ : वक्ताहरु

१८ जेष्ठ २०८१, शुक्रबार १५:२९

वीरगन्ज, १८ जेठ । पत्रकारिता पेशा समाजको ऐना भएपनि पछिल्लो समय व्यावसायिक पत्रकारिताको अभाव भएको सरोकारवालाहरुले बताएका छन् ।

वीरगन्जबाट प्रकाशित हुने आदर्श डेली अनलाईनको तेश्रो बार्षिकोत्सवको अवसरमा बोल्ने वक्ताहरुले व्यावसायिक पत्रकारिता भन्दा पनि कुनै व्यक्तिको पक्ष र विपक्षमा लेख्नेहरुका कारणले सिंगो पत्रकारिताको साख घट्दै गएको बताएका हुन् ।

कृष्ण मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित आदर्श डेली अनलाईनको प्रमुख अतिथि मधेस प्रदेससभा सदस्य श्याम पटेलले योग्यता नभएको व्यक्तिहरु पत्रकारिता पेशामा लागेकाले यसको गरिमा घट्दै गएको बताउनुभयो ।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पत्रकारहरुले वास्तविक र तथ्य सहित लेख्नुपर्ने बताउनुभयो । व्यावसायिक पत्रकारिताको पक्षमा आफू पनि रहेको भन्दै उहाँले कसैको विरोधमा लेख्दा समाजले विश्वास गर्ने गरी लेख्न सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका राजनीति समिति सदस्य सुरेन्द्र कुर्मीले अहिलेको प्रतिस्पर्धामा भ्रष्टाचारको दौड चलिरहेको बताउदै यसको अन्त्यका लागि पत्रकारहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा परिवर्तन भएमा राज्यका तीनवटै अंगमा पनि परिवर्तन आउने र सिंगो समाज र देश परिवर्तन हुने बताउनुभयो ।

कृष्णा मिडिया नेटवर्क प्रालिका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा अहिले जारी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार समिति सदस्य शिव पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, ब्रोडकाष्टिङ एशोसिएसन नेपालका मधेस प्रदेश संयोजक आशिक अन्सारी, पूर्व अध्यक्ष आरसी यादव जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा अनलाईनका कर्मचारी र सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नेकपा एमालेका नेता अमर यादव, सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज बहादुर चन्द, समाजसेवी शिवशंकर पटेल लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ । कार्यक्रमको सञ्चालन सूर्य शुभचिन्तकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्