ठोरी ,१७ कात्तिक। अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि ठोरीका नेवार समुदायले विविध कार्यक्रम गरेर नेपाल सम्वत् मनाएका छन्। नेपाल सम्वत् ११४५ प्रारम्भ भएको खुसियालीमा यहाँका नेवार समुदायले मोटरसाईकल ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेर नेवार समुदायको नयाँ वर्षको स्वागत गरेका हुन्।
नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुने नयाँ वर्षको अवसर पारेर नेवा खलः ठोरी गाउँपालिकाको सुवर्णपुरदेखि ठोरीको पर्यटकीय क्षेत्रका रुपमा परिचित राईधारासम्म मोटरसाईकल ¥याली निकालिएको हो ।
कार्यक्रममा सहभागीहरुले नेवारी पहिचान झल्कने पोषाक र न्हुँ दया भिन्तुना लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। ¥याली सुवर्णपुरबाट मालीवस्ती , विजयवस्ती, निर्मलबस्ती , ब्रम्हानगर , बुद्धनगर , रामनगर हुँदै ठोरीकोठुटेखोला किनारमा रहेको राईधारामा गएर समापन भएको थियो ।
कार्यक्रममा सहभागीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका थिए । सो अवसरमा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ , पुर्व गापा अध्यक्ष पदमलाल श्रेष्ठ , उपाध्यक्ष गोकुली कुमारी रेग्मी , ठोरी –४ का वडाध्यक्ष मान बहादुर थिङ ,नेपाली काङ्ग्रेस ठोरी सभापति सन्तोष श्रेष्ठ, नेपाल शिक्षक महासंघ ठोरी अध्यक्ष अमृत श्रेष्ठ लगायत ठोरीका नेवार समुदाय एवम् गैर नेवार समुदायका अगुवाहरु एवम् युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष ठोरीमा कार्यक्रम गरिदैँ आएको छ ।