समाचार

वीरगञ्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते (भिडियो सहित)

७ मंसिर २०८१, शुक्रबार १२:३६

वीरगञ्ज ,७ मंसिर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

शुक्रबार (आज) बिहान १० बजेतिर बीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको हो।

दुर्घटनामा बारा जिल्ला प्रसौनी  गाउँपालिकाकी ९ वर्षीया   जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य १६ जना घाइतेहरूमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै भारतका चारजना यात्रु रहेका छन्। घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका यात्रुहरू छन्।

प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पु¥याएको छ। सबै घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नाव उपरीक्षक डिएसपी श्यामु अर्यालले बताए।

बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्