समाचार

गढीमाई मेलामा ड्रोन उडाउन र मार हान्ने हतियार प्रदर्शन गर्न निषेध

७ मंसिर २०८१, शुक्रबार १६:३३

वीरगञ्ज,७ मंसिर । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले आज सुचना जारी गरि मँसिर १ गतेदेखि गढीमाईस्थित लागेको मेलामा ड्रोन उडाउन निषेध गरेको हो । पञ्चबर्षिय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, संघ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न नपाइने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडान गरेको पाईए ड्रोन क्यामेरा जफत गरी सम्बन्धित क्यामेराका धनी र उडानमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने पनि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि,२०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ ।यसैगरि बलिको लागि प्रसिद्ध गढीमाई मेलामा पशु बलिको लागि मार हान्न प्रयोग हुने हतियारहरु खुल्ला रुपमा प्रदर्शन गर्न, बोक्न पनि रोक लगाइएको छ ।

जिल्ला प्रशासनको सुचनामा मार हान्न प्रयोग हुने हतियार जस्तै तरवार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रुपमा प्रदर्शन गर्न, बोक्न वा जनजीवनलाई हतियार देखाई आतंकित पार्न पाईने छैन ।

सुचनाको अवज्ञा गरेको पाईएमा उक्त हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने पनि प्रजिअ अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।पाँच बर्षमा एकपटक लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला यस बर्ष मँसिर १ गतेदेखि लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्